News & Events

चन्द्रागिरीमा केवलकार निर्माण सुरु

 चन्द्रागिरीमा केवलकार निर्माण सुरु 

Chandra giri cable car यस्ताे हुनेछ टप स्टेशन: हाेटल, मन्दिर, केवल कार स्टेशनकाे एरियल भ्यु
काठमाडौं । काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माण सुरु भएको छ । काठमाडौं फनपार्क प्रालिले साढे दुई अर्ब रुपैयाँ लगानीमा केवुलकार निर्माण थालेको हो । नयाँ बर्ष २०७२ को अवसर पारेर काठमाडौंवासीलाई विषेश उपहार दिने लक्ष्यसहित परियोजना अघि बढाइएको कम्पनीका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए । केवुलकारको टप स्टेसन सिई कन्ष्ट्रक्सन र बटम स्टेसन स्वच्छन्द निर्माण सेवाले बनाइ रहेका छन् । अष्ट्रियाको डोपलमायर कम्पनीबाट केवुलकार तार लगायत उपकरण आउन थालि सकेको पनि उनले जानकारी दिए ।
चन्द्रागिरी डाँडामा बन्ने इच्छापुरेश्वर मन्दिरबटम स्टेशनमा केवलकारको पूर्वाधारका लागि जग खन्ने काम  सुरु भैसकेको छ भने डाँडामा निर्माण सामाग्री पुर्याउन ‘एक्सेस रोड’ बनाउने काम अन्तिम चरणमा पुगेको छ । डाँडामा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर निर्माण सामाग्री समेत लैजाने काम भैरहेको छ । ११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट आठ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । अहिले फटाफट पैदल हिँड्नेलाई चन्द्रागिरी पुग्न दुई घण्टाभन्दा बढि समय लाग्छ । केवुलकारसँगै चन्द्रागिरीमा काठमाडौं फनपार्क प्रालिले आकर्षक हिन्दु मन्दिर पनि निर्माण गर्नेछ । कम्पनीले चन्द्रागिरी डाँडामा इच्छापुरेश्वर महादेव मन्दिर निर्माण गर्न लागेको हो । पृथ्वीनारायण शाहले नेपाल एकिकरण पुर्व इच्छापुरेश्वर महादेवको दर्शन गरि काठमाडौं उपत्यकामा विजयी बनेको हुँदा त्यसको संरक्षण गर्नु ऐतिहासिक दृष्टिले पनि अपरिहार्य रहेको सञ्चालक पौडेलले जानकारी दिए । मन्दिर पनि केवुलकारसँगै यहि बर्ष भित्र पुरा गर्ने लक्ष्य राखिएको छ ।
डाँडामा सय बेडकाे तिन तारे सुविधासहित यस्ताे हाेटल पनि बन्नेछ प्रतिघण्टा एक हजार यात्रु क्षमतासहित केवुलकारको पुर्वाधार जडान गरिनेछ । सुरुमा पाँच सय जनालाई चन्द्रागिरी पुर्याउने गरि निर्माण गर्ने र विस्तारै पुर्ण क्षमतामा चलाउने कम्पनीको लक्ष्य छ । बार्षिक पाँच लाख पर्यटकलाई केवुलकार चढाएर चन्द्रागिरी पुर्याउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए । त्यसबाहेक केवुलकारको वटम स्टेशनमा फनपार्क र चन्द्रागिरीमा तिन तारे होटल निर्माण हुनेछन् । यी दुई परियोजना २०७२ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको सञ्चालक पौडेलले जानकारी दिए । चन्द्रागिरी डाँडामा कन्फ्रेन्स हल सहित बन्ने होटल एक सय कोठाको हुनेछ । त्यसमध्ये सुरुमा ५० कोठा निर्माण हुनेछन् । डाँडामा वोटानिकल बगैँचा पनि निर्माण हुनेछ । केवुलकारको वेस स्टेशनमा बन्ने फनपार्क पनि विषेश सुविधा सम्पन्न हुनेछ । त्यसका लागि कम्पनीले ८० रोपनी जग्गा खरिद गरेको छ । काठमाडौंबाट नजिकै रहे पनि ओझेल परेको चन्द्रागिरी डाँडोलाई विषेश प्रबद्र्धन गर्ने कम्पनीको लक्ष्य छ । होटलमा रहने कन्फ्रेन्स हलका कारण काठमाडौंबाट छुट्टि मनाउने जाने मात्र होइन कार्यालयकै काम लिएर जानेहरुले पनि चन्द्रागिरीको रमणीय वातावरणमा समय विताउन सक्नेछन् । चन्द्रागिरी डाँडो र त्यस तलको २० हेक्टर जमिन कम्पनीले ४० बर्षका लागि सरकारसँग लिजमा लिएको हो । यो अर्को ४० वर्षका लागि नविरकण गर्न सकिने व्यवस्था छ । केवुलकार सञ्चालनमा आए पछि त्यहाँको पर्यावरणीय सुन्दरतालाई पनि आफुहरुले उत्तिकै महत्व दिने सञ्चालक पौडेल बताउँछन् । केवुलकार, मन्दिर, फनपार्क र होटलसहित सबै परियोजनाको लागत साढे दुई अर्ब लाग्ने अपेक्षा गरिएको छ । त्यसमा आईएमई समुह, भाटभटेनी, अम्बिका पौडेल र वेलायतमा बस्दै आएका नेपाली व्यवसायीहरु उत्तम र नवराज नेपालले लगानी गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, ग्रान्ड, सिदार्थ र प्रभु विकास बैंकले एक अर्ब रुपैयाँको कन्सोर्टियम कर्जा लगानी गरेका छन् ।यस्ताे बन्दैछ चन्द्रागिरी….
 



 

image

Copyright © 2024 Greatnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image